सबै मन्त्रीलाई सामूहिक राजीनामा गराउने तयारी

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरूलाई सामूहिक राजीनामा गराउने तयारी गरेका छन् । पार्टीभित्रको छलफलपछि नै ओलीले यस्तो कदम चाल्ने तयारी गरेको स्रोतले बताएको छ । ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच कम्तिमा १० मन्त्री फेर्ने तयारी भएको भएपनि वरिष्ठ नेता माधव नेपाललगायतका सचिवालय सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिंदा बाहिरिनेले पनि अपमानित हुनु नपर्ने भन्दै सामूहिक राजीनामाको तयारी थालिएको हो ।

पछिल्लो समय विवादमा मुछिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा पनि मन्त्रिमण्डलबाट बाहिरिने भएपछि उनीहरूकै जोडबलमा सबै मन्त्री फेर्ने तहसम्म प्रधानमन्त्री ओली अगाडि बढेका छन् । तर कार्यक्षमता सन्तोषजनक रहेका बढीमा ५ जना मन्त्रीलाई भने पुनर्गठनमा पनि अवसर दिने तयारी छ, जसमध्ये पछिल्लोपटक क्याविनेटमा समावेश भएका पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भूषाल रहेका छन् । योगेशलाई सरकारका प्रवक्तासहित सञ्चार मन्त्रालय दिने तयारी गरिएको छ भने भूषालको मन्त्रालय पनि परिवर्तन गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।



विवाद समाधान कार्यदलले तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्न सुझाव दिएसँगै ओली र प्रचण्ड तयारीमा जुटेका थिए । तर ओली र प्रचण्ड दुबैले आफूलाई सहयोग गरेकालाई निरन्तरता दिन प्रयास गरेपछि कसलाई कुन मन्त्रीलाई हटाउने र कुन मन्त्रीलाई निरन्तरता दिने भन्ने विवाद सिर्जना भएको थियो । यी सबै परिदृश्य बुझेका माधव नेपालले नै सुरूमा सबै मन्त्री फेर्ने प्रस्ताव गरेका थिए । नेपालकै सुझाव बमोजिम कार्यक्षमता सन्तोषजनक भएका र कार्यकाल २ वर्ष पार नगरेका बढीमा ५ मन्त्रीलाई कार्यक्षेत्र हेरफेर गर्नेगरी दोहोर्याउन शीर्ष नेताहरूबीच समझदारी बनेको हो ।

मन्त्रिपरिषद् पुर्नगठन र नयाँ मन्त्रीमा पनि शीर्ष नेताहरूबीच समझदारी भएकोले आगामी भदौ २० यता नै मन्त्रिपरिषद् पुर्नगठनको काम सक्ने तयारीमा ओली र प्रचण्ड रहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गतेदेखि सकिँदै छ । त्यसअघि नै मन्त्रिपरिषद् पुर्नगठन गरिसक्ने तयारीअनुरूप शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ ।

पछिल्लो तयारीअनुसार अब कम्तिमा पनि २० जना नेतालाई मन्त्री बनाइने भएको छ । नयाँ मन्त्रीमा यसअघि चर्चामा रहेका महासचिव विष्णु पौडेलबाहेक भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल, बेदुराम भुषाल, देवेन्द्र पौडेल, अमनलाल मोदी पक्का भएका छन् भने थप १२ जनालाई अवसर दिइने भएको छ ।

यता मुख्यमन्त्री पनि परिवर्तन गर्ने तयारी गरिएकोले नेकपाको सरकार रहेका ६ वटै प्रदेशमा मुख्यमन्त्रीलाई पनि समूहिक राजीनामा गराउने सम्भावना रहेको पनि स्रोतको दाबी छ । प्रदेश २ मा जसपाको सरकार रहेको छ । जसपा पनि प्रदेश सरकार पुर्नगठनको लागि तयार भएमा सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई सामूहिक राजीनामा गराएर नयाँलाई अवसर दिनुपर्ने आवाज नेकपाभित्र उठेको छ, त्यसले गर्दा सरकारको काम कारवाहिलाई लिएर बढेको जनगुनासो कम हुने र फेरि एकपटक पार्टीभित्रका नेता कार्यकर्ता चलायमान हुने विश्वास शीर्ष नेताहरूको छ ।

सम्बन्धित समाचार