नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।

महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका गरी ४२ प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जनसेवासँगै रहेको ट्राफिक प्रभागका ११ र वृत्तका ९ प्रहरी गरी २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । त्यसैगरी महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा कारोना भाइरस संक्रमण देखिएको काठमाडौं परिसरका एक प्रहरी अधिकृतले जनाकारी दिए।
केही दिनअघि मनमैजुमा भएको हत्या काण्डमा पक्राउ परेका एक अभियुक्तमा कोरोना भाइरस संक्रमण देखिएको थियो । ती अभियुक्तलाई महाराजगञ्ज वृत्तमा राखिएको थियो । उनलाई पक्राउ गर्नेदेखि बयान लिने प्रहरी अधिकारीसम्ममा कोरोना भाइरस संक्रमण देखिएको हो।
काठमाडौंमा पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । हिजाे मात्र जिल्ला प्रशासन कार्यलयले जारी निषेधाज्ञा १ हप्ता थप्दै भदौ १७ सम्म पुर्याएको थियो ।

