नवकान्तिपुर संवाददाता
नेपालगञ्ज, ११ भदौ ।

नेपालगञ्जमा कोरोनाबाट ७० वर्षीया बृद्धाको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेकी नेपालगञ्ज–७ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार महिलालाई निमोनिया थियो । बृद्धालाई विरामी भएपछि भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यही दिन स्वाब संकलन गरिएको थियो ।
उनको भदौ ५ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । स्वास्थ्य स्थिति बिग्रिदै गएपछि ६ गते नेपालगञ्जबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यही आज विहान ११ बजे ५० मिनेटमा मृत्यु भएको कोरोनाका फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।
बाँकेमा यसअघि नेपालगञ्ज, नरैनापुर, बैजनाथ र कोहलपुरका गरी पाँच जनाको कोरोनाबाट मृत्यु भइसकेको थियो । यसैबीच बाँकेबाट बिहीबार २२ जना डिस्चार्ज भएका छन् । बाँकेमा बिहीबारसम्ममा ६ सय ८२ जना डिस्चार्ज भएका छन् । संक्रमितको संख्या ९ सय २० पुगेको छ। २ सय ३३ जना आइसोलेसनमा छन् ।

