नवकान्तिपुर संवाददाता
विराटनगर, १४ भदौ ।

कोरोना भाइरस कोभिड १९ का कारण प्रदेश १ मा थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आइतबार धरान १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ७४ वर्षीया महिलालाई शनिबार बेलुका करिब साढे आठ बजे परिवारले अस्पतालमा भर्ना गराएका हुन् । गएको एकसातादेखि ज्वरो र अध्याधिक खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि गम्भीर अवस्थामा महिलालाई अस्पताल ल्याएको उनले बताए ।
उच्च रक्तचाप, मधुमेहका बिरामी महिलाको पीसीआर रिपोर्ट आइतबार बिहान पोजेटिभ आएको थियो । प्रवक्ता सापकोटाका अनुसार गम्भीर अवस्थामा उपचार भइरहँदा विहान ८ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । त्यसैगरी, आइतबार नै विहान ७ बजेर ४५ मिनेटमा ६० वर्षीय अर्का पुरुषको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
मधुमेह र दुईमहिनादेखि कलेजोमा समस्या रहेका पुरुषलाई गएको १० दिनदेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको मृतकको परिवारले जानकारी दिएको उनले बताए । मृतकका परिवारले नै शनिबार राती अस्पताल भर्ना गराएका थिए । यसक्रममा पुरुषको पीसीआर रिपोर्ट आइतबार बिहान पोजेटिभ आएको थियो।
प्रतिष्ठानका अनुसार हाल दुवै शवको ब्यवस्थापन हुने तयारी भइरहेको छ । यससँगै प्रदेशमा ३१ जना संक्रमितको मृत्यु भएको छ । जसमा २२ जना प्रदेश १ बाट र ९ जना प्रदेशबाट बाहिरका रहेका छन् ।

