नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।

निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन् । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन् । केही प्रहरी घाइते भएका छन् । निषेधाज्ञा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ ।
अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन् । सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ । प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन् ।
लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थि ए। आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएको छ ।
प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई उनीहरूले रोक्न सकेका थिएनन् । बीच सडकमा ल्याउँदा रथ केही लच्केको देखिएको थियो ।
कोरोना महामारीबीच उपस्थित यति ठूलो भीडमध्ये कतिपयले मास्क लगाएका छन् भने मास्क नलगाउनेहरू पनि थुप्रै छन् ।

