
मन्त्रिपरिषद बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ । आजैको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।
राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुने कार्यक्रम छ । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।
यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् । ओलीले भने प्रदीप ज्ञवालीलाई अर्थमा ल्याउने चाहना व्यक्त गरेका छन् ।
