मान्छे मारी टाउकोसहित प्रहरी कार्यालयमा आत्मसमर्पण

धादिङका एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेर प्रहरीलाई टाउको बुझाउँदै आत्मसमर्पण गरेका छन् । निलकण्ठ नगरपालिका –१३ खलचेत भन्ने ठाँउमा यो घटना बिहीबार राति भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार खलचेतका २६ वर्षीय राजु परियार राति सवा एक बजे हत्या गरिएका पुरुषको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा पुगेका थिए ।



‘मैले मान्छे मारेर टाउको लिएर आएको छु’ भन्दै मध्यरातमा परियारले प्रहरी समक्ष आत्मसमर्पण गरेको रेग्मीले बताए । परियारले खलचेतकै ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन् ।

हत्या गरेपछि राति सवा एक बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर उनी प्रहरी कार्यालय पुगेका थिए । उनीहरुबीच आपसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी रेग्मीले बताए ।

मृतकको शव पोष्टमार्टमको तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

सम्बन्धित समाचार