बीमा समितिले बनायो ३ सदस्यीय छानविन समिति

बीमा समितिले जारी गरेको कोरोना बीमा नयाँ मापदण्डको चौतर्फी आलोचना भएपछि समितिले समस्या समाधानका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समस्या समाधानका लागि बीमा समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको प्रतिनिधि रहने गरी ३ सदस्यीय छानविन समिति बनाएको हो ।

बीमा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको निकायबाट कोरोना परीक्षण गराएर पीसीआर रिर्पोट पोजिटिभ आएमात्रै बीमा दावी भुक्तानी दिने तर निजी प्रयोगशालामा परीक्षण गराउनेहरूले संक्रमण भए पनि बीमा रकम नदिने मापदण्ड बनाएको छ । निजी प्रयोगशालामा गराइएको परीक्षण नक्कली रिपोर्ट समेत ल्याएर बीमा दावी भुक्तानी हुने गरेको भन्दै समितिले यस्तो मापदण्ड बनाएको हो । उक्त समितिले बनाएको मापदण्ड अर्थमन्त्रालयले समेत स्वीकृत गरिसकेको छ ।



बीमा समितिले ल्याएको नयाँ मापदण्ड बीमा गरेर पनि भुक्तानी नदिने नियतले ल्याएको भन्दै त्यसको चौतर्फी आलोचना भइरहेको थियो । अब निजी प्रयोगशालाको परीक्षणलाई मान्यता दिने वा नदिने भन्ने विषयमा छानविन समितिले दिएको सुझावका आधारमा मापदण्ड संशोधन गरिने बीमा समितिले जनाएको छ ।

सम्बन्धित समाचार