मल ल्याउन नसकेपछि कृषि मन्त्री भुसालले मागे माफी, अझै १५ दिन मल नआउने

तोकिएको समयमा मल आउन नसकेकोमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले माफी मागेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकेकोमा दुःख व्यक्त गर्दै माफी मागेका हुन् । उनले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको समेत बताए। जसमध्ये सैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालि रहेको छ । कृषि समाग्री कम्पनीले २०७७ वैशाख १२ गते (२०२० अप्रिल २४) सैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते (२०२० अप्रिल २७) होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो ।



दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते (२०२० जुलाई २३) भित्रमा तोकिएको मल आयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मितिसम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द भएको मन्त्री भुसालले बताए। उनले मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको समेत बताए।

अबको १५ दिनभित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भुसालले बताए।

सम्बन्धित समाचार