नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

‘तपाईहरूले निषेधाज्ञाको निर्णय गरिरहँदा लिइने आधार के हो ? लकडाउनको अवधिमा १६ सयको हाराहारीमा भएको आत्महत्याको खबर सुनेर आत्मग्लानी हुन्छ कि हुँदैन ? आफ्नो देशमा भोकले मर्नुभन्दा अर्काको देशमा रोगले मर्ने भन्दै भारततिर लर्को लागेर जानेको लस्करले मुटु छुन्छ कि छुँदैन ? लकडाउन र निषेधाज्ञाको अवधिमा बढेको घरेलु हिंसा, वृद्धवृद्धामा आएको नैराश्यता, युवामा आएको दिक्दारी र आक्रोश सबैको दुरगामी असरको आकलन गर्नुभएको छ ?
गर्भवती महिलाहरू अस्पताल पुग्न सकेका छैनन्, घरमै सुत्केरी हुँदा हुने समस्या र जोखिमको अलिकति हेक्का राख्नुभएको छ ? सर्वसाधारणको रोजगारी र आम्दानी त खोसिएकै छ, बजारमा खाद्यान्नको भाउ छोइसक्नु छैन । तर तपाईंहरूको घरको भान्छाको हिसाबकिताबले चाहिँ के बताउँछ ? तपाईंको आफ्नो आम्दानी नियमित छ, घर व्यवहार यथावत् चलेकै छ, हिंडडुल गर्न पाईएकै छ तर तपाईंले अनवरत यी सेवा सुविधा उपभोग गरिरहँदा यी सबै सेवा सुविधाका लागि कर तिर्ने विपन्न श्रमिक नाम्लोले पेट फन्फनी बाँधेर भोकले रोइरहेको देख्दा तपाईंको आत्माले के भन्छ ?’
माथिका यी र यस्तै दर्जनौं प्रश्नहरू निर्णायकर्तालाई एक नागरिकको प्रश्न र अपिल भन्दै मंगलबार कृषिविद् यमुना घलेले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् । चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा देखा परेका घटनाहरूलाई प्रतिनिधित्व गरेर घलेले लेखेका यी प्रश्नहरूमा पछिल्लो समयको देशले भोगिरहेको दयनीय अवस्थाको प्रतिबिम्ब झल्किन्छ । कोरोना महामारीको नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञालाई मात्रै उत्तम विकल्प ठानेर अन्य प्रयासहरू प्रभावकारी बनाउँन नसक्दा सरकारप्रति मानिसहरूको वितृष्णा पैदा भएको छ । सरकारले महामारीको नियन्त्रणमा सकेजति प्रयासहरू गरेको दाबी गरिरहँदा मानिसहरूले भने त्यसलाई पत्याएका छैनन् । जनतालाई घरभित्र थुन्नुबाहेक सरकारले अर्को काम गर्न नसकेको जनआक्रोस व्याप्त छ ।
कम्युनिष्टको सरकार आएपछि ‘भोकले कोही मर्दैन, कोही भोकै बस्नु पर्दैन’ भन्ने केपी शर्मा ओलीकै नेतृत्वमा अहिले सरकार छ । तर नागरिकहरू सडकमा भोकभोकै तड्पी रहेको देख्दादेख्दै पनि सरकार त्यसलाई विरोधीले रचेको षड्यन्त्र ठान्छ र दैनिकजसो टेलिभिजन र पत्रपत्रिकामा आएका जनताका जनगुनासाहरूलाई सरकार प्रायोजित हल्ला भनिदिन्छ भने नागरिकका लागि यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ? पछिल्लो समय जनस्वास्थका मापदण्ड पालना नगरेको र प्रशासनको नियम उल्लघंन गरेको भन्दै तरकारी बेच्नहरूदेखि लिएर सडकका भोकाहरूमाथि प्रशासनले लाठी बर्साउने गरेको कारूणीक दृश्यहरू दैनिकजसो सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने गरेका छन् । तर भोका, दिनदुखी र असाहयको पीडा कसले बुझिदिने ? कोरोनाको महामारीका कारण भारतबाट आफ्नो जन्मभूमि आइपुगेका हजारौं नेपालीहरू विश्वमै सबैभन्दा बढी संक्रमण फैलिएको दोस्रो मुलुकको सूचीमा रहेको भारतमा अहिले दैनिक सयौं नेपालीहरू रोजगारीका लागि जान किन विवश छन् ? यो बाध्यता र विवशता पछाडिको कारण सरकारलाई थाहा छ कि छैन ?
‘हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरूलाई सम्बोधन गरेर भारतमा कोरोनाको प्रकोप बढ्दो छ, नेपालमै बस, जे गर्नुपर्छ, हामी गर्छौं भनेर किन भन्न सकिरहेको छैन ? ‘सम्माननीय प्रधानमन्त्रीज्यू’ नायिका गौरी मल्लले फेसबुकमा प्रश्न गरेकी छन् ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा, रमाइलो गर्ने माध्यम भइरहेको होला अथाव बानी परिसकेको होला । तर, हामी सर्वसाधारणलाई साह्रै लज्जाबोध हुन्छ । किनकि जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शीर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको होइन, गर्वको पात्र बनोस् । तर, बिडम्बना त्यस्तो दिन कमसेकम हाम्रो जीवनमा आउन सकेको छैन ।’ सिंहदरबार र बालुवाटारभन्दा पनि बाहिर नेपाल रहेको कुरा नविर्सन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले लेखेकी छन् ‘यो देश नै तपाईको घर हो । हामी जनता नै तपाईका परिवार हौं । यो कुरालाई आत्मसात गर्नुहोस् । आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन तर आज तपाईंका जनता जानीजानी आगोमा होम्मिन जाँदैछन्, उनीहरूको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईकै हो ।’
लामो समयसम्म घरभित्रै बसेका नागरिकहरू अब सरकारको नियम मान्न पक्षमा देखिँदैनन् । कहिले लकडाउन त कहिले निषेधाज्ञाको कारण दैनिक चलाउनै धौधौ परेपछि अब भोका पेटहरू निषेधाज्ञाको अवज्ञा गर्ने निश्चित छ । अहिले पनि काठमाडौं उपत्यकामा मात्रै पनि विभिन्न संघसंस्थाहरूले विज्ञप्ति जारी गर्दै भदौ २४ गतेपछि निषेधाज्ञा थपे आन्दोलन गर्ने चेतावनीसमेत दिइरहेका छन् । निषेधाज्ञाको अवधि थपिँदै गए समस्यामाथि समस्याहरू पनि थपिदै जाने भन्दै विभिन्न व्यवसायीहरूले सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्छ भन्ने मागहरू राख्दै आएका छन् । तर यसैबीच सरकारले भने लकडाउन नगरे मंसिरसम्ममा नेपालमा कुल संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । काठमाडौं उपत्यकालगायत पर्सा, विराटनगर, चितवन, बुटवललगायतका ठूला शहरमा समुदायमा संक्रमण फैलिसकेको भन्ने विश्लेषण भइरहेको छ । देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी रहेकै अवस्थामा पनि अहिले दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन् । यस्तो जटिल अवस्थामा पनि सरकारी निर्णयले अप्ठ्यारो स्थिति झेलिरहेका लक्षित वर्गप्रति सरकार गम्भीर नबन्ने हो भने स्थिति कल्पनाभन्दा बाहिर जान सक्छ । राज्यसंयन्त्र नै फेल हुने अवस्था आइपुग्नु भनेको सरकार स्वतः असफल हुनु हो ।

