बलिवुड अभिनेत्री रिया चक्रवर्ती गिरफ्तार

बलिवुड अभिनेत्री रिया चक्रवर्ती गिरफ्तार भएकी छन् । रियालाई बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा छानबिन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको हो ।

हाल सिबिआइले यस प्रकरणमा अनुसन्धान गरिरहेकोमा यो घटना ड्रग्ससँग सम्बन्धित भएको देखिएपछि अहिले एनसीबी अनुसन्धान गरिरहेको छ । एनसीबी बलिवुडमा ड्रग्सको ठुलो गिरोह रहेको आशंकामा यो घटनालाई जोडेर अनुसन्धान गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।



रियालाई अभिनेता सुशान्तलाई ड्रग्स खुवाएको प्रमाण फेला परेपछि हिरासतमा लिइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । एनसिबिले यस प्रकरणमा अहिलेसम्म १० जनालाई हिरासतमा लिएको बताइएको छ । एनसीबीले रियाका भाई शौविक चक्रवर्तीलाई यस अघि नै हिरासतले लिएको छ ।

गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

सम्बन्धित समाचार