नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदाै ।

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ । विहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केही सहज गराइएको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले विहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेका छन् ।
यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र पसल तथा व्यवसाय पनि निश्चित समय सञ्चालन गर्न दिने निर्णय भएको छ । तर, काठमाडौं उपत्यका प्रवेशमा भने अझ कडाइ गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लम्बिदै गएपछि अवज्ञा गर्ने क्रम बढेको थियो । यही बीचमा व्यवसायीहरूले निषेधाज्ञा हटाउन माग गर्दै आएका थिए ।
पछिल्लो नियम अनुसार १४ सिटभन्दा माथिका सवारीसाधन चल्छन्। तर, माइक्रो बस, टेम्पो चल्दैनन्। ट्याक्सीलाई भने रोक लगाइएको छैन। दाहालका अनुसार भोलिदेखि सबै खालका पसल खुल्नेछन्, तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ। अब सपिङ मलहरू साताको तीन दिन मात्रै खुल्नेछन्।
कपडा, जुत्ताचप्पल पसलहरू पनि खुल्नेछन् । अत्यावश्यकीय भनिएका खाद्यान्न, दुग्धजन्य वस्तुहरू खोल्न पाइने छ। बैंकहरू यसअघि नै सुचारु थिए। अब सहकारी पनि खोल्न पाइने छ। वर्कसप, भाँडापसल, अनलाइन कक्षा, फेन्सी पसल खुल्ने छन् ।
शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ । उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन्। उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।
दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन । खुल्ला स्थानमा सभा-जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ-मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन । उद्योग र कलकारखाना चल्न दिइन्छ। तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्।
