नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

निषेधाज्ञा खुकुलो गरेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । कतिपयले काठमाडौं छाड्ने योजना बनाइरहेका छन् । तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यका बाहिर जाने सवारी सहजीकरणका लागि तोकेको मापदण्ड भने केही झन्झटिलो छ ।
प्रशासन कार्यालयले काठमाडौंबाट बाहिरन सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सवारी सहजीकरणका सम्बन्धमा सिफारिस अनिवार्य गरिएको जानकारी दिएका हुन् ।
जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएको छ-‘सवारी सहजीकरणको लागि तोकिएको निविदेश, अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्ला प्रशासन कार्यलयको अनुमति पत्र तथा सम्बनिधत गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य पेश गरी सम्बन्धिति व्यक्ति स्वयम् उपस्थत हुनुपर्ने छ ।’
जिल्ला प्रशासन कार्यालयले तोकिएका अत्यावश्यक कार्य बाहेकमा काठमाडौं जिल्ला बाहिर आवज-जावत गर्न सवारी सहजीकरण जारी नगरिने जनाएको छ।


