नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदौ ।
मार्चमा सुरु भएको राष्ट्रव्यापी लकडाउनबीच स्थगित भएको चलचित्रको काम गत महिनादेखि पुनः सुरु हुन थालेको छ । यसैबीच अयान मुखर्जी निर्देशित चलचित्र ‘ब्रह्मास्त्र’ को डबको काम पनि सुरु भएको छ । चलचित्रका कलाकार रणवीर कपुर र आलिया भट्टले डब सुरु गरेका छन् ।
चलचित्र रिलिजअगावै ब्रह्मास्त्रको संसारबारे व्याख्या गर्ने कलाकारहरुको टिजर भिडियो रिलिज गरिने तयारीमा निर्माण टिम छ । यसकै लागि चलचित्रमा इशा र शिवको भूमिका रहेका आलिया र रणवीर विगत एक सातादेखि डबिङ स्टुडियो धाइरहेका छन् ।
डबसँगै उक्त विशेष भिडियो सम्पादनको काम पनि भइरहेको छ । यद्यपि चलचित्रको एक गीतसहित करिब १०, १२ दिनको छायांकन भने बाँकी नै छ । बाँकी छायांकन मुम्बईकै स्टुडियोमा गरिनेछ भने छायांकनमा अभिनेता अभिताभ बच्चन र रणवीर कपूरको अन्तिम महत्त्वपूर्ण दृश्य पनि छायांकन हुनेछ ।