कोरोना संक्रमित काठमाडौंका कम्युनिष्ट मेयर पाँच तारे होटलमा मस्ती गर्दै, जनता सडकमा भोकभोकै !

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि महँगो आइसोलेसनमा बसेका छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेका हुन् ।

उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएका छन् । उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी र मेडासिटी अस्पतालबाट डाक्टरको व्यवस्था गरिएको छ ।



गत भदौं ३ गते काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितलाई राख्न एक साताभित्र ५ हजार बेड क्षमताको आइसोलेशन निर्माण गर्ने घोषणा गरेका थिए । तर सो कार्य पूरा हुन सकेको छैन । काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथामका लागि सेना परिचालनको माग गर्ने तर कोरोना संक्रमण थालेको ५ महिना बढी समय गुजर्दा पनि महानगरमा क्वारेटिन र आइसोलेसन सेन्टरको व्यवस्था गर्न नसक्ने उनले आफ्नो लागि भने सबैभन्दा महंगो आइसोलेन तयार गरेका हुन् ।

पछिल्लो समय काठमाडौं भित्रिने नाकामा काठमाडौंबाहिरबाट आउने मान्छेलाई प्रहरीले नियन्त्रण गर्न नसकेको भनेर मेयर शाक्य चिडिएका थिए । उपत्यका मेयर फोरमका संयोजक समेत रहेका शाक्यले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई सेना परिचालनको माग गर्दै आएका थिए । मेयर शाक्य अझै ४ दिन होटल सोल्टीमै रहने स्रोतको भनाइ छ ।

काठमाडौं उपत्यकामा दिनहुँ कोरोनाभाइरस संक्रमित थपिरहेको भएपनि उनीहरुको व्यवस्थापनका लागि महानगरले प्रभावकारी पहल गर्न नसकेको गुनासोहरु चर्कोरुपमा सुनिन थालेको छ । कोरोना संक्रमित हुनुअघि मिडिया खपतका लागि आइसोलेसन सेन्टर बनाउने भन्दै ठूला भाषण गरेपनि सिन्को नभाँचेको र अहिले आफ्नो लागि भने तारे होटल व्यवस्था गर्नु जनमतकै अपमान भएको महानगरकै एक वडाध्यक्षले बताए ।

सम्बन्धित समाचार