नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।

यातायात व्यवसायीहरूले आगामी असोज १ गते विश्वकर्मा पूजाको दिनबाट यातायात सञ्चालनमा ल्याउने तयारी थालेका छन् । व्यवसायीहरूले लामो समयदेखि ठप्प रहेको यातायात असोज १ गते विश्वकर्मा पूजाको दिनबाट लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा ल्याउने तयारी थालेका हुन् ।
कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञाको समय लम्ब्याउदै गएपछि यातायात व्यवसायीहरूले यातायात चलाउने तयारी थालेका छन् । कोरोना संक्रमणको जोखिमका काराण गत चैत ११ गते लकडाउन गरिएपछि यसबीचमा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आए पनि लामो दूरीका सवारीसाधन भने ठप्प रहेका छन् । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण कोमामा गएको यातायात क्षेत्र विश्वकर्मा पूजाको दिन (असोज १ गते) बाट सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । व्यवासायीहरूका समस्यालाई सरकारले पनि राम्रोसँग बुझेकोले यातायात सञ्चालनको लागि सरकारले पनि सहज वातावरण मिलाइदिन्छ भन्नेमा व्यवसायीहरू विश्वस्त रहेको सिटौलाको भनाइ छ ।
‘कोरोना कहर कहिले सकिन्छ भन्ने निश्चित नभएकोले पनि यातायात खुलाउनुको विकल्प छैन’ सिटौलाले नवकान्तिपुरसँग भने ‘निजी सवारी साधनहरूले मेची महाकालीबाट यात्रुहरू बोक्दा कोरोना नसर्ने तर सार्वजनिक गाडीमा कोरोना सर्ने पनि हुन्छ ? सार्वजनिक यातायातलाई पनि सरकारले निश्चित मापदण्ड तोकेर सञ्चालनको लागि वातावरण मिलाइदिनु पर्छ ।’ झण्डै ६ महिनासम्म गाडीहरू सञ्चालनमा नआउँदा विभिन्न पार्टपुर्जा समेत बिग्रिएको पनि उनले बताए ।
सरकारको ध्यानकर्षण
लामो समयसम्म यातायात सेवा सञ्चालन नहुँदा दैनिक ज्यालाबाट जीवन चलाउने यातायात श्रमिक र व्यवसायीहरूको जीवन कष्टकर बनेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले असोज १ गतेबाट लामो, मध्यम, छोटो दूरी र स्थानीय रूटमा सम्पूर्ण यातायात चलाउन दिनुपर्ने सरकारसमक्ष माग राखेको छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर असोज १ गतेदेखि गाडी चलाउने जानकारी गराइसकेका छन् । करिब ६ महिनादेखि सार्वजनिक यातायात ठप्प हुँदा ११ लाख यातायात श्रमिक र ३ लाख ६० हजार यातायात व्यवसायीहरूसँग प्रत्यक्ष आश्रित परिवारका ४५ लाखभन्दा बढीको जीवन संकटमा परेको भन्दै गाडी चलाउन पाउनुपर्ने व्यवासायीहरूको माग छ ।
१६ सिटभन्दा माथिका सार्वजनिक यातायात सञ्चालन
भदौं ४ गतेबाट जारी निषेधाज्ञा गत विहीबारदेखि खुकुलो भएसँगै काठमाडौं उपत्यकामा अहिले १६ सिटभन्दा माथिका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरूको संयुक्त बैठकले १६ सिटभन्दा माथिका सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागुगरी चल्न दिने निर्णय गरेको हो । १६ सिट भन्दा कम क्षमताका सार्वजनिक सवारी साधनहरू माईक्रो, टेम्पो, अटो रिक्सालगायतका साधन सञ्चालनमा लगाएको रोक भने कायमै रहेको छ । तर व्यवसायीहरूले भने निश्चित मापदण्ड पूरा गरी साना सार्वजनिक यातायातहरू पनि सञ्चालनमा ल्याउनुपर्नेमा उल्टै रोक लगाउनु विभेदकारी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
