नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमणका बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
उनले भने, ‘उनीहरुले सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारवाही गरेका हौं ।’ सङ्क्रमण रोग ऐन, २०२० को दफा ९२० विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरुप उक्त जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
लमजुङमा आज २७ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै जिल्लामा कुल संक्रमितकाे संख्या ३११ पुगेको छ ।
हटलाइन सेवा सञ्चालन गरिने
जिल्ला प्रशासन कार्यालयले आगामी असोज १ गतेदेखि हटलाइन सेवा सञ्चालन गर्ने भएको छ । जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापनलगायत प्रशासनको कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाह एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासो प्रभावकारी बनाउने उद्देश्यले वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा उक्त मितिदेखि सञ्चालन गरिने भएको हो ।
आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । नागरिकको समस्या तथा गुनासो सुन्न तथा समस्याको समाधान गर्न प्रशासनले २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासो तत्कालै र अन्य गुनासो सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ ।
जिल्लास्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थाको सेवा प्रवाह, विपद् व्यवस्थापनलगायतका विषयमा उजुरी तथा गुनासो गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हटलाइन नम्बर ०६६५२१३९९ र सिधै प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५६०१७७७७ मा समेत गुनासो तथा उजुरी दिन सकिने छ । गुनासो गर्दा तथ्य प्रमाणसहित हुनुपर्ने र गुनासोकर्ताको पहिचान गोप्य राखिने छ ।
