नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबारको बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन । गौतमलाई राष्ट्रियसभामा सदस्य बनाउने निर्णय नेकपाले गरेको छ । त्यस्तै कुलमान घिसिङ दोस्रो कार्यकालका लागि विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले लैजाने तयारी गरेको छ ।
घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर आइतबार प्राधिकरणबाट बिदा भएका छन् । दुवै नियुक्तिबारे प्रधानमन्त्री ओली व्यक्तिगत रुपमा इच्छुक नभए पार्टी निर्णय र दबाबका कारण बाध्य हुने संभावना रहेका छन् । कुलमानको पुनः नियुक्तिको लागि सामाजिक संजालमा व्यापक दबाब जनताले दिइरहेका छन् । सम्पूर्ण नेपाली जनतालाई कुलमानले नै लोडसेडिङको अन्त्य गराएको भन्ने विश्वास छ र अरु कुनै व्यक्ति विद्युतको कार्यकारी निर्देशकमा आए पुनः लोडसेडिङ गरी कमिसनकाे चलखेल हुन सक्ने कुरामा जनताहरु संशकित छन् ।
