नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएपछि पक्राउ परेका मध्ये मुख्य आरोपीलाई पुर्पक्ष थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौँले गरेको छ भने बाँकी आठ जना रिहा भएका छन् ।
आइतबार जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउँदै तीन जनालाई प्रतिव्यक्ति १५ हजार धरौटी र पाँच जनालाई साधरण तारिखमा छाड्न आदेश दिएको हो ।
भदौ १ गते झण्डा जलाएको म्युजिक भिडियो सार्वजनकि भएपछि प्रहरीले उक्त घटनामा संलग्न नौजनालाई विभिन्न स्थालनबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अनुसन्धानपछि भदौ २४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सार्वजनिक भएको म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य देखिएको थियो । भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।
प्रहरीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५१ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।
