नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । सिंहको काठमाडौं बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको हो । सिंह २००३ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । सिंह २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भइ सर्वोच्च अदालत गठन भएपछि प्रधानन्यायाधीश भएका थिए ।
‘३० वर्ष लामो सरकारी सेवामा उहाँले योगदान दिनु भएको छ । अनिरुद्रप्रसाद सिंहको सबैभन्दा राम्रो पक्ष भनेको उहाँले भ्रष्टाचार गरेको कँही कतै सुनिएन,’ वरिष्ठ अधिवक्त सुशीलकुमार पन्तले भने, ‘न्यायलयमा पस्दा भ्रष्टाचार नगर्ने न्यायाधीशको कसीको लिस्टमा उहाँ पर्नुहुन्छ। आजको परिप्रेक्ष्यमा हेर्दा त्यो भन्दा ठूलो केही लाग्दैन ।’
न्यायालयमा हुँदा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सिंहले भ्रष्टचार गरेको कुरा कहिल्यै नसुनिएको उनको भनाइ थियो । कानुन पत्रिको सुरुवात पनि सिंहले गरेको भन्दै वरिष्ठ अधिवक्ता पन्तले भने, ‘सर्वोच्च अदालतको फैसलालाई प्रकाशित गर्ने विषयको सुत्राधार उहाँ नै हुनु भयो । न्यायमा एकरुपता र न्यायमा समानताका लागि कानुन पत्रिका प्रकाशन गर्ने कार्यले नै उहाँको कानुनप्रतिको प्रतिवद्धता देखिन्छ ।’
