नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

पर्यटक बस व्यवसायीहरूले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् ।
टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान० का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए ।
‘पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौँ’, उनले भने ।
सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ ।
