नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

नेपालको संसद बैठकमा कैयौं मधेसी सांसदहरुले हिन्दी भाषामा बोल्ने गरेका छन् । सांसदहरुले शपथ पनि हिन्दी भाषामा लिने गरेका छन् । यस्तै अहिले भारतको लोकसभा बैठकमा पनि नेपाली मातृभाषा भएका भारतीय सांसदले नेपालीमा बोलेका छन् । भारतीय जनता पार्टीको सांसदको रुपमा दार्जिलिङबाट प्रतिनिधित्व गर्ने सांसद राजु बिष्टले लोकसभा बैठकमा नेपालीमा बोलेका हुन् ।
मंगलवारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राखेका छन् । तेन्जिङ नोर्गे पहिलो सगरमाथा आरोही हुन् । सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए । विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु ‘आइकन’ बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन् । पहिले हिन्दीमा ‘म पनि मेरो कुरा मेरो मातृभाषामा राख्छु’ भनेर बिष्टले नेपालीमा बोल्न सुरु गरेका थिए ।
https://www.facebook.com/386549375264756/videos/3427749600602261/?__so__=channel_tab&__rv__=all_videos_card
