नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा एकैपटक ६५२ जनासँगै काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये ७१ दशमलव ५ प्रतिशत अर्थात ४१ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६८ जना कोरोना मुक्त भएका हुन् ।