कुलमानको पक्षमा गरिएको युवाहरुको प्रदर्शनमा प्रहरीको धरपकड

कुलमानको कार्यकाल सकिएपछि उनी नेपाल विद्युत प्राधिकरणबाट विदा भएका छन् । कुलमानले नेपालमा लोडसेडिङ अन्त्य गर्न अभूतपूर्व भूमिका खेलेको सर्वविदीतै छ । सारा नेपाली जनताले कुलमानलाई नै अर्को कार्यकालको लागि पनि नियुक्ति भएको देख्न चाहन्छन् । त्यसैले उनलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँमा युवाहरु प्रदर्शनमा उत्रिएका छन् । तिनै प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले धरपकड गरेको छ ।

बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्‍यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो । प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । केही घाइते भएका छन् । केहीलाई पक्राउ गरेको छ । मोटरसाइकलमा आएकाहरुलाई तितरवितर पारेर साँचो प्रहरीले लिएको छ ।



सो क्षेत्र भएर आउने मोटरसाइकलहरु प्रहरीले रोक्दै केरकार गरेको छ । प्रदर्शनमा नभइ आफ्नो नियमित कामका लागि मोटरसाइकलमा हिँडेकाहरुलाई पनि प्रहरीले रोकेर सोधपुछ गरिरहेको छ । हन्ड्रेड ग्रुपका युवाहरुले बुधबार बेलुका राँके जुलुस निकालेका थिए भने बिहीबार मोटरसाइकल र्‍याली गरेका हुन् ।

कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको थियो । सरकारले कुलमानलाई दोर्होयाउने संकेत नदेखिएपछि दबाब दिन दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् । मन्त्रिस्तरीय निर्णयले मंगलबार प्राधिकरणकै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार