नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की १६ वर्षीया किशोरी संगीता मण्डललाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । बलात्कारपछि संगीताले आत्महत्या गरेकी थिइन् । पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय रन्जित भन्ने सरोजकुमार मण्डल र १९ वर्षीय बब्लु भन्ने सुमनकुमार मण्डल रहेका छन् ।
घटनामा संलग्न अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले बताए । गत भदौ २९ गते धानखेतमा पानी लगाउन गएकी संगीतामाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।
बलात्कारपछि स्थानीयले समेत केही रकममा मिल्न दबाब दिएपछि किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
