नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनासहित देशभर ६३९ महिला र १ हजार ३८१ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ३८३ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा ८ हजार ८८ जना र संस्थागत आईसोलेसनमा ९ हजार २९५ जना छन् । ती मध्ये १७३ जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।