नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असाेज ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए ।
विगतमा ढिला टेण्डर आह्वान हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उनले बताए । उनले भने, ‘टेण्डर गरेर दुईरतीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल ल्याएर वितरण गर्नुपर्ने थियो । साल्ट ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’
मन्त्री भुसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए। कोरोनाले गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले बताए । विगतमा किसानहरुले मल अभाव हुँदा सीमा क्षेत्रबाट आफै ल्याउने गरे पनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाइ छ ।
कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रासायनिक मल नल्याएको भन्दै दुई वटा सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।