नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठक पेरिसडाँडामा जारी छ । पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा जारी नेकपा सचिवालय बैठकमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल भइरहेको छ ।
एमाले र माओवादी केन्द्रबीच एकता हुँदा माउ पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही र भातृ संगठनको कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको भएको थियो । उक्त सहमति अनुसार केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक यसअघि धुम्बाराहीमा र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।
तर यो पटक सचिवालय बैठक पेरिसडाँडामा बस्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो । बुधबार दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सचिवालय बैठक पेरिसडाँडामा राख्न प्रस्ताव गरेका थिए । स्रोतका अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भइरहेको छ ।
बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् । यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।
२६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो । उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।
गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।
