मुख्यमन्त्रीलाई श्रीमान भनेर दाबी गर्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् । प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेरिसडाँडाबाट पक्राउ परेकी हुन् ।

सत्तारुढ नेकपाको पेरिसडाँडामा सुरुभएको केन्द्रीय सचिवालय बैठकमा ‘ठूलो नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ । उनले आफूले अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै बिहीबार मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।



खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दाको म्याद मुख्यमन्त्री राईले नबुझ्दै फिर्ताका लागि निवेदन दिएकी हुन् । उक्त मुद्दाको पेशी आउँदो कात्तिक १८ गतेका लागि तोकिएको थियो ।

केन्द्रीय कार्यालयमा पार्टी सचिवालय बैठक बसिरहेका बेला होहल्ला गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

खड्काले सञ्चार माध्यममा पनि राईलाई २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन् ।

सम्बन्धित समाचार