नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।

विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक रानीपोखरीको पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले रानीपोखरीमा पानी भरेपछि पोखरी पहिलेकै अवस्थामा फर्किएको छ । करिब पाँच वर्षसम्म पानी विहीन भएको रानीपोखरीमा अहिले पानी भरिएपछि यसले पुनर्जीवन पाएको हो ।
हाल रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको निर्माणसमेत अन्तिम चरणमा पुगेको छ भने मन्दिरको गजुर हाल्ने काम बाँकी छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ । रानीपोखरीको सबै काम सकेर अब राष्ट्रपतिले उद्घाटन गर्ने प्राधिकरणले जनाएको छ ।
पुर्ननिर्माणको विषयलाई लिएर विभिन्न समयमा रानीपोखरी निर्माणको विषय विवादास्पद रहेको थियो । रानीपोखरी पुनर्निर्माणको क्रममा पुरानो शैलीलाई अवलम्बन नगरेको भन्दै काठमाडौं नगरपालिकालाई निर्माण जिम्मेवारीबाट हटाइयो । त्यसपछि उपभोक्ता समितिमार्फत परम्परागत शैली र प्रविधिको प्रयोग गरी मल्लकालीन शैलीमा उक्त पोखरी पुर्ननिर्माण गर्ने प्रतिबद्धता राष्ट्रिय पुनः निर्माण प्राधिकरणले गरेको थियो ।
१८औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुर्ननिर्माणको शिलन्यास गरेकी थिइन् । वि.सं. २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरीको पुर्ननिर्माण २०७७ साल वैशाख १२ गते सम्ममा सक्ने तालिका भए पनि कोरोना भाइरसको महामारीका कारण केही ढिलाइ हुन गएको हो ।



