नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो । सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने बताइएको छ । यस्तै संवैधनिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा पनि त्यसका लागि पदाधिकारी चयनका आधार तय गर्ने संभावना रहेको एक नेताले बताए ।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा तीनवटा अवधारणामा छलफल जारी छ । प्रधानमन्त्रीबाहेक सबैलाई राजीनामा गराएर पुरै नयाँ ढंगबाट मन्त्रिमण्डल गठन गर्ने, राम्रो काम गरेकालाई राखेर बाँकीलाई हटाउने र खालि रहेका मन्त्रालय र अन्यमा सामान्य फेरबदल मात्रै गर्ने प्रस्तावहरुमाथि छलफल भएको तर टुंगो लागेको छैन ।



पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा रहेको नेताहरुको भनाइ छ । आजको बैठकमा यसबारे एउटा समझदारी बनाएर छनोट गर्ने जिम्मा अध्यक्षद्वयलाई दिने संभावना रहेको एक सचिवालय सदस्यले बताए ।

‘आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे मापदण्ड बनाएर नाम छान्ने जिम्मा अध्यक्षद्वयलाई दिनेछ र संबैधानिक आयोग पदाधिकारी नियुक्तिबारे पनि एउटा क्राइटएरिया बनाउनेछ,’ ती सचिवालय सदस्यले भने ।

सम्बन्धित समाचार