नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असाेज ।

यतिवेला मुलुकका अधिकांश स्थानमा वर्षा भैरहेको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।
लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ । ती क्षेत्रमा अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ। यसपालिको मनसुन सेप्टेम्बर २३ अर्थात् आज नै सकिने आकलन गरिए पनि यो अझै केही दिन लम्बिने मौसमविद्ले जनाएका छन् ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने जानकारी दिए । मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन नसकेको मौसविद्ले जनाएका छन् ।
आजदेखि मनसुनी प्रभाव मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने भएकाले उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् ।
