सर्वसाधारणले कोरोना परीक्षणका लागि रातभर पालो कुर्नुपर्ने, नागरिकका लागि सरकार खोइ ?

‘खोइ आज त हाम्रो पालो नै आउँदैन न जस्तो छ, के गर्ने होला ?’ अलिकति दिक्दारी र अलिकति निराशा मिसिएको यो प्रश्न सिमसिमे पानीमा एउटा हातमा छाता ओढिरहेका सञ्जयले सँगै भएको आफ्नो साथी राकेशलाई सोधे । ‘अझै एक घण्टा बाँकी छ, पालो आइहाल्छ कि हरौं न !’ राकेशले आशलाग्दो जवाफ दिए । बुधबार बिहानै झिसमिसेमा कोरोना परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु पुगेका सञ्जय र राकेश दिउँसो करिब १२ बजेति पनि आफ्नो पालो कुर्दै लाइन बसेका छन् । उनीहरूभन्दा अगाडि अझै पनि सयौंको संख्यामा मानिसहरू लाइनमै छन् । जनकपुरबाट हिजो मात्रै काठमाडौं आएका उनीहरू घरबेटीले कोरोना परीक्षण बिना कोठामा बस्न नदिएपछि उनीहरू परीक्षणको लागि टेकु आइपुगेका हुन् ।

कैलालीबाट मंगलबार टेकराज तिमिल्सेना र उनकी बहिनी काठमाडौंमा बस्दै आएका उनका मामासँगै बस्न र यतै काम गर्न भनेर आए । तर यता मामाको कोठामा जाँदा घटबेटीले कोरोना परीक्षण विना कोठामा बस्न नदिने भनेपछि उनी पनि बुधबार बिहानै टेकु आइपुगे । ‘हिजो म र बहिनी काठमाडौं आइपुग्यौँ । बहिनीको उतै (कैलाली) परीक्षण गरेर आएका हुनाले उसलाई टेस्ट गर्नु नपर्ने भयो तर मेरो चाहिँ परीक्षण गर्नु पर्ने भएकाले बिहानै यता (टेकु) आएको’ उनले भने ।



कोरोना परीक्षण गराउन आउनेहरूको लाइन एका बिहानैदेखि मात्रै होइन, हिजो अस्पतालकै बाहिर सुतेर पनि मानिसहरू आफ्नो पालो कुर्न बाध्य छन् । तर पालो कतिबेला आउँछ कुनै पत्तो छैन । विभिन्न जिल्लाहरूबाट राजधानी भित्रिएका सर्वसाधारणहरू रात दिन, भोक तिर्खा र घाम पानीको प्रबाह नगरी पीसीआर परीक्षणका लागि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् ।

लामो समयदेखिको लकडाउन र बन्दाबन्दीका कारण बन्द भएका सार्वजनिक यातायातहरू असोज १ गतेबाट सञ्चालनमा आएदेखि काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ । बाहिर जिल्लाबाट काठमाडौं आएका अधिकांशलाई कोरोना परीक्षण विना घरबेटीले कोठामा बस्न नदिएपछि परीक्षणको लागि अस्पताल पुग्नेहरूको भीड लाग्ने गरेको छ । टेकु अस्पतालमा कोरोना परीक्षण गराउँन आउँनेहरूको मात्रै भीड छैन कोरोना परीक्षणको रिपोर्ट लिन आउनेहरूको पनि भीड उस्तै देखिन्छ । टेकु अस्पतालमा दैनिक करिब एक हजार बढी मानिसहरू कोरोना लक्षण देखेरभन्दा घरबेटीले कोठामा बस्न नदिएका कारण परीक्षण गराउनको लागि आउने गरेका छन् । तर अस्पतालले दैनिक तीन सय स्वाब संकलन गर्दै आइरहेको छ । कोरोना परीक्षण गराउन आउनेहरूमा अधिकांश तराईबाट आएकाहरू भेटिन्छन् । आम सर्वसाधारण नागरिकले कोरोना परीक्षणकै लागि यस्तो अवस्था आइलाग्नुले कोरोना महामारी विरुद्ध सरकारको तयारी कस्तो रहेछ भन्ने छर्लङ्ग पारिदिएको छ ।

सामाजिक दूरीको मजाक

कोरोनाको सक्रमणबाट आफू बच्न र अरूलाई बचाउँने सावधानीहरूमध्येको सामाजिक दूरी (सोसियल डिस्ट्यान्सिङ) । मानिसहरूबीच एकअर्कामा जति दूरी कायम गर्न सक्यो उत्ति नै संक्रमणको जोखिम कम हुने गर्छ । तर टेकु अस्पतालमा कोरोना परीक्षण गराउँन आउनेहरूको भीड देख्दा सोसियल डिस्ट्यान्सिङको मजाक उडाएको जस्तो देखिन्छ । हजारौंको संख्यामा लाइन लागेकहरूबीच दुई मिटर होइन दुइ बित्ताको समेत दूरी कायम गरेको देखिँदैन । सायद उनीहरूलाई दूरी कायम गरे कसैले पालो कुल्ची दिने डर भएर होला ! यति मात्रै होइन लाइनमा बसेका अधिकाशंले मास्कको सही प्रयोग गरेकोसमेत देखिँदैन । अव्यवस्थित भीडका कारण कोरोना परीक्षण गराउन आउनेहरू त्यहाँको भीडबाट नै कोरोना सर्छ कि भनेर डराउने अवस्था छ । भीडलाई व्यवस्थित गरे पनि एक छिनमै फेरि भीड लाग्ने गरेको त्यहाँका डाक्टरहरू बताउँछन् । ठेलमठेल गर्दै सयौंको संख्यामा लाइनमा लागेकालाई व्यवस्थित तरिकाले भित्र जाने व्यवस्था मिलाइरहेका सुरक्षाकर्मीलाई समेत भ्याइनभ्याइ देखिन्छ ।

संक्रमणको जोखिम बढ्दै

चारमहिना लामो लकडाउन र त्यसपछिको बन्दाबन्दीको समयमा पनि सरकार कन्ट्याक्ट ट्रेसिङ र परीणको दायरालाई अझै पनि व्यापक बनाउँन नसक्दा पछिल्लो समय संक्रमणको जोखिम झनै बढेको देखिन्छ । देशभर दैनिक थपिरहेका संक्रमितहरूको झण्डै आधा संक्रमितहरू काठमाडौं उपत्यकाकै रहेको देखिन्छ । कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुनु, भौतिक दुरी कायम नहुनु, उपत्यकामा मानिसहरूको प्रवेश बढ्नु, आवतजावतका क्रममा मास्कको उचित प्रयोग नहुनु, पर्याप्त मात्रामा परीक्षण दर नबढ्नु र लकडाउन अन्त्य हुनुले उपत्यकामा संक्रमणको जोखिम बढेको जन स्वास्थ्यविदहरूले बताउँदै आएका छन् । यसैबीच पछिल्लो समय काठमाडौं उपत्यकामा दिनहुँ भइरहेका प्रदर्शनहरूले समेत संक्रमणको जोखिम झनै बढ्ने खतरा देखिन्छ ।

सम्बन्धित समाचार