नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको छ । बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।
सक्रिय संक्रमितको संख्या २५ हजार नाघे विद्यमान स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो निर्णय गरिएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । त्यस्तै बुधबार दिउँसोसम्म नेपालका संक्रमण पुष्टि भएकामध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् । त्यस्तै, कोरोनाबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६७ हजार ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।