नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

दुई दिन देखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ भालटार र ईन्द्रसरोवर गाउँपालिका–२ मा पहिरो खस्दा हेटौडा–सिस्नेरी–काठमाडौं र भीमफेदी–कुलेखानी–काठमाडौं सडकमा दुई तर्फी सवारी आवागमन अवरुद्ध बनेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ भैसेमा र पाचँपोखरी थाङपाल गाउँपालिकामा आज बिहान पहिरो खसेर सडकहरु अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
पर्वतको जलजला गाउँपलिका–८ र्फसेमा पनि आज बिहान पहिरो खस्दा बेनी–मालढुङ्गा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । सिद्धार्थ राजमार्गस्थित पाल्पाको तानसेन नगरपालिका–८ तल्लो डुम्रेमा गएराति पौने १० बजे लेदो माटो सहितको पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–५ बादरे भिर र दहरे खोलामा लेदो सहितको पहिरो आउँदा रिडी बाग्लुङ सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ । गोर्खाको गोर्खा नगरपालिका–३ किलोमा पहिरो जाँदा गोर्खा–आवुखैरेनीमा सवारी आवागान अवरुद्ध भएको छ ।
यस्तै गोर्खाकै आरुघाट गाउँपालिका–९ भञ्ज्याङमा पनि सडक माथिबाट खसेको पहिरोले गोरखा-आरुघाट सडक खण्ड अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ४ किलो, कुरिनटार र १७ किलोमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डको सवारी आवागमन एकतर्फी पहिरो पन्छाएसँगै आलो-पालो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जोगिमारा, तिङग्राङखानी, ज्याङखोला, मौवाखोला, बादरेभिरमा लेदोमाटो सहितको पहिरो खसीरहेका कारण उक्त स्थनमा पनि सवारी साधन एकतर्फी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएको छ ।
