स्याङ्जा पहिरो अपडेट : एकै परिवारका ९ सहित १० को मृत्यु

स्याङजाको वालिङमा पहिरोमा पुरिएर एकै परिवारका नौसहित १० जनाको ज्यान गएको छ । आज  बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको ज्यान गएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ–१४ का १४ बर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् भने एक बालकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।



एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएकोमा थप उपचारका लागि पोखरा लगिएको छ । घर माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

यस्तै स्याङ्जाकै कालीगण्डकी बिर्घामा पनि पहिरो पुरिएर १७ वर्षीय विष्णु परियारको मृत्यु भएको वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् । घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरिंदा उनको मृत्यु भएको थियो । पहिरोले बाबुराम र उनका दाइ जगतबहादुर नेपालीको घर भत्किएको छ ।

सम्बन्धित समाचार