नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनासहित देशभर ५१३ महिला र ९८४ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ४५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा ९ हजार ८२३ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६१४ जना छन् । ती मध्ये २३२ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५६५ जना रहेका छन् ।
