नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
बलिउडमा ड्रग कनेक्सनको छानबिन तिब्ररुपमा भइरहेको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छानबिनका क्रममा ठुला अभिनेत्रीहरुलाई बयानका लागि बोलाएपछि अब अनुसन्धानको दयारा फराकिलो बनाउदै लागेको छ ।
यसै क्रममा ड्रग कनेक्सनको तार बलिउडको चर्चित धर्मा प्रोडक्सनसम्म पुगेको छ । एनसीबीले धर्माका कार्यकारी निर्माता क्षितिज रवि प्रसादलाई बयानका लागि पत्र काट्दै शुक्रबार उपस्थित हुन निर्देशन दिएपछि बलिवुडमा अब ड्रग सिन्डिकेटको भण्डाफोर हुने अनुमान गरिएको छ ।
निर्माता निर्देशक करण जोहरलाई बलिउडमा नातावाद कृपावाद लागु गर्न प्रमुख भूमिका खेलेको आरोप अहिले लागि रहेका बेला उनकै ब्यानरका सिनियर व्यक्तिलाई बयानका लागि बोलाइएकाले अब यसको कनेक्सन जोहरसम्म पनि पुग्न सक्ने अनुमान बलिउडमा गरिएको छ । उनलाई ड्रग सप्लाई गर्ने अनुज केश्वानीसँगको बयानपछि बोलाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यहि यस अघि अभिनेत्री दीपिका पादुकोणको ड्रग मागेको ह्वाट्सएप च्याट बाहिरिएपछि उनलाई पनि बयानका लागि शनिबार उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै अभिनेत्री श्रद्धा कपुर, सारा अली खान, रकुलप्रित सिंहलाई समेत एनसीबीले बयानका लागि बोलाई सकेको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको छानबिन गर्ने क्रममा बलिउडको ड्रग कनेक्सनको भेद खुलेपछि एनसीबीले अहिले रिया चक्रवर्तीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अहिले सुशान्तका म्यानेजर र अन्य सेलिब्रेटीहरुको पीआर हेर्ने म्यानेजरहरुसहित ड्रग कारोबारमा संलग्न २० भन्दा बढीलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ । अभिनेत्रीहरुको पीआर म्यानेजरहरुसँगको ह्वाट्स एप च्याट बाहिरए पछि उनीहरुले ड्रग लिने कुराको खुलासा भएको हो ।
मिडिया रिपोर्टका अनुसार ड्रग लिने सुचिमा अझै ठुला अभिनेताहरुसहित ५० भन्दा बढी बलिवुड सेलिब्रेटी तानिने उल्लेख गरिएको छ ।