नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीलाई श्रीमतीले बलात्कारको आरोप लगाएकी छिन् । लामो समयदेखि छुट्टाछुट्टै बस्दै आएकी श्रीमती आलियाले नवाजुद्दीनविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।
आलियाले मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी समेत दर्ता गरेकी छन् । भारतीय मिडियाका अनुसार आलियाले नवाजुद्दीनमाथि बलात्कार र ठगीको आरोप समेत लगाएकी छन् । आलियाले केही दिन अगाडी पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिदै आएको बताएकी छिन् ।
आलियाले भनेकी छिन् ,‘म नवाजुद्दीनलाई २००३ देखि जान्दछु । हामी एकसाथ बस्न थालेका थियौं । उनका भाई शमास पनि हामी सँगै बस्थे । विस्तारै हामीबीच प्रेम भयो र विवाह ग-यौं । सुरुवातदेखि नै हामीबीच समस्या थियो । यो चाँडै बन्द हुनेछ भन्ने लागेको थियो । तर, १५–१६ वर्षमा पनि मेन्टल टर्चर बन्द भएन ।’
आलिय लामो समय देखि श्रीमानबाट अलग रहँदै आएकी छन् । उनीहरुबीच खटपटको घटना पुरानै भएता पनि आजभोलि चर्चामा आएको हो । हिजो मात्रै अर्की अभिनेत्री पुनम पाण्डेले श्रीमानबाट कुटपिट तथा नराम्रो व्यवहार गरेको भन्दै श्रीमानविरुद्ध उजुरी हालेकी थिइन । पछिल्लो समय बलिउडमा दैनिक जसो विभिन्न प्रकरण सार्वजनिक भएका छन् ।