नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
बलिवुडका चर्चित निर्माता निर्देशक करण जोहरले आफुले कहिल्लै ड्रग नलिएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै जोहरले आफुले कहिल्लै ड्रग नलिएको र आफ्ना पार्टीमा समेत ड्रग नहुने बताएका हुन् ।
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को ड्रग्स कनेक्सनमा बलिवुडका चर्चित हस्तीहरुलाई बयानका लागि बोलाउने क्रम शुरु गरेपछि जोहरको यस्तो अभिव्यक्ति आएको हो । उनले मिडियामा गलत समाचार प्रसारण गरिएको बताउदै २०१९ को जुलाई २८ मा आफ्नो घरमा भएको पार्टीमा ड्रग सेवन नभएको बताएका छन् ।
उनले आफुले कुनै किसिमका ड्रगको सेवन पनि नगर्ने र यस्ता कुनै चिजको सेवनका लागि कसैलाई सल्लाह समेत नदिने बताएका छन् । अहिले आइरहेका समाचारबाट आफु, आफ्नो परिवार र सँगै काम गर्ने सबैलाई मानसिक पिडा भएको भन्दै आफुहरु घृणा र मजाकको शिकार भएको बताएका छन् । जोहरलाई बलिउडमा नातावाद र कृपावादलाई बढावा दिएको आरोप लाग्दै आएको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि जोहरले बलिउडमा बाहिरबाट आएकालाई अगाडी बढ्न नदिने भन्दै उनको कडा आलोचना भइरहेको छ । उनलाई सुशान्तको मृत्युमा समेत दोषी भएको आरोप लाग्दै आएको छ ।
बलिवुडको ड्रग कनेक्सनमा अहिले एनसिबीले अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रित सिंह, सारा अली खानलाई बयानका लागि बोलाएको छ । ड्रग कनेक्सनमा नाम आएपछि जोहरकै ब्यानर धर्मा प्रोडक्सनमा काम गर्ने कार्यकारी निर्माता क्षितिज प्रकासलाई समेत एनसीबीले बयानका लागि बोलाएको छ ।