नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि चीनले नमिचेको बताएका छन् । दार्चुलामा नयाँ निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर आज (शनिबार) सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको स्पष्ट पारेका हुन् ।
‘हिल्सामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले नै स्पष्ट गरिसकेको छ,’ उनले भने, ‘सञ्चार माध्यममा आए जस्तो चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन् ।’
अर्को प्रसंगमा उनले देशभरमा बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेकाले सुरक्षित आवास निर्माण गर्न सरकारले गृहकार्य शुरु गरेको बताए । ‘कुन ठाउँमा बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भनेर गृह मन्त्रालयले प्रतिवेदन तयार गरिरहेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम हुन्छ ।’
