नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
हाल ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन् । हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा भने १० हजार ५०८ जना छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन् । योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७३.८ प्रतिशत हो ।
