नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् । बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने भएको छ।
आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो। आजको बैठकमा केही मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरिने स्रोतको दाबी छ ।
पछिल्ला दिनहरुमा नेकपा अध्यक्षद्वयप्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातार मन्त्रिपरिषद् पुर्नगठनको गृहकार्य गरिरहेका थिए । उनीहरुबीच झण्डै १ दर्जन मन्त्रीहरुको बिदाइ गरेर नयाँ मन्त्री नियुक्त गर्ने समझदारी बनेको स्रोतले बतायो ।
२ वर्ष कार्याकाल पार गरेका र कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई आजको मन्त्रिपरिषद् बैठकमा राजीनामाको लागि समय दिइने छ । त्यसपछि खाली ३ मन्त्रालयसहित १५ नयाँ मन्त्रीलाई अवसर दिने ओली प्रचण्डको तयारी रहेको छ ।
