
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरू भएको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा ओली दाहाल छलफलमा जुटेका हुन्। केही समयअघिबाट ओली दाहालबीच बालुवाटारमा छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् हेरफेरको काम अन्तिम चरणमा पुगेको छ। असोज ४ गतेको सचिवालय बैठकबाट औपचारिक रुपमा प्रवेश पाएको मन्त्रिपरिषद् हेरफेरको बिषयमा टुंगोमा पुर्याउन बैठकले अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो।
सोही अनुरुप उनीहरु बिहिबारदेखि निरन्तर छलफलमा जुटेका छन् । मन्त्री हेरफेर हुने भएपनि नेकपाभित्र आकांक्षी समेत बढिरहेका छन्। मन्त्रिपरिषद्को हेरफेरको गृहकार्यका लागि ओली दाहालबीच अन्तिम सहमतिमा पुग्न लाग्दा प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक समेत डाकेका छन्। स्रोतका अनुसार आजको भेटमा राजीनामा मागिने मन्त्रीको नाम फाइनल गरिनेछ ।
