नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । नेकपाका अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिएका छन् । भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भएकाे प्रचण्डको सचिवालयले जनाएको छ । तर, कुन–कुन विषयमा छलफल भयो भन्ने प्रचण्डको सचिवालयले खुलाएन ।
मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मन्त्रिमण्डल पुनर्गठनका विषयमा लगातार छलफल भए पनि कुन मोडेलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन । सोही विषयमा थप छलफल गर्न आज पुनः भेटवार्ता भएको बताइएको छ ।
अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ । प्रचण्डसँग सहमति भए आजै मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने सम्भावना उच्च रहेको स्रोतको दावी छ ।
