नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता रहेका छन् । केही समयअघि हुम्लाको नाम्खा नगरपालिका–६ लाप्चेमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेविसंघले सोमबार दूतावासअघि विरोध प्रदर्शन गरेको थियो ।
पक्राउ पर्नेहरुमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त हाँडीगाउँमा राखिएको प्रहरीले बताएको छ ।
‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियान अन्तर्गत नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको थियो । पछिल्लो समय यो विषयलाई लिएर विभिन्न विरोध प्रदर्शनहरु हुन थालेका छन् । तर चीनले भने नेपाली भूमिमा अतिक्रमण नगरेको बताउँदै आएको छ । सरकारले पनि छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताउँदै आएको छ ।
