नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

बझाङ मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा यसअघि पनि यस्तै घटनामा संलग्न रहेको खुलेको छ । सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका बोहराबाट अर्को बलात्कार भएको प्रहरीले जनाएको छ ।
गत साउन २९ गते साँझ मष्टा–२ खिकालाकी एक १४ वर्षीया दमाई थरकी बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पानी घट्टमा आएकी १४ वर्षीया बालिकालाई बोहराले बलात्कार गरेको र उक्त घटनालाई साउन ३१ गते दुवै पक्षबीच मिलापत्र गरेर गुपचुप गरिएको थियोे ।
प्रहरीकाअनुसार मिलापत्रमा ‘गर्भ रहेमा युवकले जिम्मा लिने’ व्यहोरा उल्लेख गरिएको छ । मिलापत्रका क्रममा राजेन्द्रले पाँच सय रुपैयाँ राखेर बालिकाको खुट्टा ढोगेर माफी मागेका थिए । मिलापत्रमा दुवै पक्षका तीन–तीन जनाले हस्ताक्षर गरेका थिए । उक्त घटनाका बारेमा पनि बालिकाका आफन्तले आइतबार प्रहरी कार्यलयमा किटानी जाहेरी दर्ता गराएको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले नवकान्तिपुरलाई जानकारी दिए ।
बलात्कारपछि हत्या
असोज ७ गते मन्दिरभित्र मृत भेटिएकी सम्झनाको बलात्कारपछि हत्या भएको पोस्टमार्ट रिपोर्टबाट पुष्टि भएको छ । प्रहरीका अनुसार सम्झनाको टाउको, यौनाङ्ग र शरिरका विभिन्न ठाउँमा चोटहरु रहेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
यस्तो थियो घटना
असोज ७ गते साँझ ५ बजेतिर सम्झना घरबाट आधा घण्टा टाढा रहेको गोठ (छाना) मा गाईगोरु गोठभित्र बाँध्न हिँडेकी थिइन् । सधैंजसो गोठमा गएको एक घन्टाभित्र घर आइपुग्ने गरेकी सम्झना त्यो दिन दुई घण्टा बढी भइसक्दा पनि घर फर्किनन् । उनी अबेरसम्म पनि घर नफर्केपछि सम्झनाका परिवार र गाउँलेहरु मिलेर खोजी गर्न थाले ।
सम्झनालाई खोज्दै जाँदा गोठ नपुग्दै मिममाडु (मन्दिर) भित्र उनको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । उनको शरीरमा निलडाम र टाउको चोट थियो । घटनाको स्थलगत अनुसन्धानबाट सम्झनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको थियो । सोही दिन घटनामा संलग्न भएको आरोपमा प्रहरीले मष्टा–२ खिकालाकै राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।

दोषी नउम्कियोस्
सम्झना हत्यामा सलंग्नलाई कारबाहीको माग गर्दै बझाङमा र काठमाडौंमा प्रर्दशन भइरहेका छन् । विभिन्न संघ संगठनहरूले विज्ञप्तीमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई चाडोभन्दाचाडो कारबाही गरिनुपर्ने माग गरेका छन् । मृतकका आफन्त, मानव अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दलका भातृ संगठनलगायतले दोषीलाई फाँसीसम्मको सजाय हुनुपर्ने भन्दै प्रदर्शन गदैै आएका छन् । सम्झनाको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै आइतबार स्थानीयले बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
