मन्त्रिपरिषद् पुनर्गठन : ओली–दाहाल फरक कित्तामा विभाजित

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनयता निरन्तर छलफलमा जारी रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार उनीहरुको छलफल हुने मुख्य थलोका रुपमा यतिबेला परिचित छ ।

पार्टीको स्थायी कमिटी बैठक र सचिवालय बैठकले सरकारका कामकारवाहीलाई लचिलो बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव गरेसँगै दुवै अध्यक्षहरु सो गृहकार्यमा निरन्तर लागिरहेका छन् । उनीहरुबीच सोमबार पनि भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्ताका क्रममा दुबैजना फरक कित्तामा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा छन् तर अध्यक्ष दाहाल भने यसलाई केही समय लम्ब्याउने तयारीमा लागेको बालुवाटार स्रोतले बताएको छ ।



अध्यक्ष दाहाल भर्खरै मात्र राष्ट्रिय सभा सदस्यमा मनोनित भएका बामदेव गौतमलाई मन्त्री बनाउने तयारीमा छन् । बामदेव विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले गौतमलाई मन्त्री बनाउन कानुनी बाधा हुनसक्ने ओलीको अडान छ । प्रधानमन्त्री ओली केही मन्त्रालय टुक्राएर मन्त्रालयको संख्या २४ बनाउने तयारीमा छन् । हाल मन्त्रालयको संख्या २२ रहेको छ । मन्त्रालय थप्ने नै हो भने आफूले १० वटा मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अध्यक्ष दाहालको स्पष्ट अडान रहेको छ । तर प्रधानमन्त्री ओली भने त्यो अडानको पक्षमा छैनन् । उनी पूर्वमाओवादीका लागि मन्त्रालय थप गर्ने तयारीमा नभएको बुझिएको छ । हाल दाहाल निकटका ७ जना मन्त्री सरकारमा रहेका छन् ।

प्रधानमन्त्री ओली थपिएका मन्त्रालयमा नयाँ मन्त्री आगमन गर्ने तर अन्यलाई यथास्थितिमा राख्ने तयारीमा छन् । तर अध्यक्ष दाहाल भने मन्त्रिपरिषद्को पुरै सेट नै परिवर्तन गर्ने पक्षमा छन् । उनीहरुबीच यही विषयमा साझा एजेण्डा हालसम्म तय हुन सकेको छैन् ।

सम्बन्धित समाचार