नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ ।
सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो । खाद्यले गत शुक्रबारदेखि प्याज बेच्न सुरू गरेको हो ।
प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ । एक जनाले तीन किलोग्रामसम्म किन्न पाउने खाद्यले जनाएको छ । प्याज किन्नका लागि सर्वसाधारणको लाइन लागेको छ । यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो ।
केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो। प्याजको भाउ चर्को रूपमा बढेपछि सरकारले अनुगमन गर्न सुरू गरेको थियो ।
