नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो रस्साकसीपछि राजीनामा माग्ने मन्त्रीको नाम फाइनल भएको छ । कम्तिमा १० मन्त्री हटाउन चाहेका प्रचण्डले ओलीको चट्टानी अडानपछि अन्ततः ६ मन्त्रीको मात्र राजीनामा गराउने विषयमा सहमत भएका छन् । ३ मन्त्रालय फुटाएपछि थपिएका ३ मन्त्रालय, आली रहेका ३ मन्त्रालय र राजीनामापछि खाली हुने ६ मन्त्रालयसहित १२ जना नेतालाई यही साताभित्र मन्त्रीमा नियुक्त गर्ने समझदारी ओली–प्रचण्डबीच बनेको बताइन्छ ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमीमन्त्री पद्मा अर्याल, श्रममन्त्री रामेश्वरराय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, खानेपानीमन्त्री विना मगरलाई पदबाट हटाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो । अध्यक्ष प्रचण्डले रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्टलाई पनि हटाउन निरन्तर गरेको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।
ओलीले आफूनिकट मन्त्रीहरूलाई पदबाट नहटाएपछि नयाँ बन्ने मन्त्रीमा ओली निकट नेताहरू नपर्ने भएका छन् । नयाँ मन्त्रीमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल निकटका धेरै नेता समेटिने देखिएको छ । आज भोलिमा थपिने नयाँ मन्त्रीहरूको जिम्मेवारी टुङ्गिएपछि ढिला नगरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
नयाँ मन्त्रीमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल पनि सहभागि हुने निश्चित भएको छ । अन्य नयाँ मन्त्रीहरूमा जनार्दन शर्मा, पम्फा भूषाल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, खगराज अधिकारी, देवेन्द्र पौडेल, बेदुराम भूषाल, कृष्णगोपाल श्रेष्ठ, गणेश ठगुन्ना, यज्ञराज सुनुवारको नाममा सहमति भएको बताइन्छ ।
मुख्यमन्त्री परिवर्तन तिहारपछि
ओली र प्रचण्डबीच मुख्यमन्त्री परिवर्तन तिहारपछि मात्र गर्ने सहमति भएको बताइन्छ । उनीहरूबीच ४ प्रदेशका मुख्यमन्त्री फेर्ने सहमति भएको छ । ओलीनिकट २ मुख्यमन्त्री बागमती प्रदेशका डोरमणि पौडेल र प्रदेश १ का शेरधन राईको बिदाइ हुने पक्का छ । बागमतीमा नेपाल निकटकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा खनालनिकटका भीम आचार्यले अवसर पाउने भएका छन् । त्यसैगरी पूर्व माओवादीको भागमा परेको कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि बिदाइ हुने स्रोतको दाबी छ । उनको ठाँउमा प्रकाश ज्वालाले अवसर पाउने भएका छन् ।
यता प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि बिदाइ गरिने बताइए पनि उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारे अझै सहमति भैसकेको छैन । ओलीनिकटका २ मुख्यमन्त्री प्रदेश ५ का शंकर पोखरेल र गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरूङलाई भने निरन्तरता दिइने भएको छ ।
प्रदेश २ मा जसपाको सरकार रहेकोले त्यहाँको सरकार परिवर्तन नेकपाको हातमा छैन । जसपाले पनि लालबाबु राउतको विकल्प खोजिरहेकोले अन्य प्रदेशका मुख्यमन्त्री परिवर्तन भएकै मेसोमा प्रदेश २ को सरकार परिवर्तन गर्ने तयारीमा रहेको बुझिएको छ । फलतः तिहारपछाडि ५ प्रदेशहरूले नयाँ मुख्यमन्त्री पाउने देखिएको छ ।
